प्रतिनिधिसभाको बैठकमा आइतबार केही समय तनावपूर्ण अवस्था देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर बैठक कक्ष छाडेपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित बनेकी थिइन्।
बैठक चलिरहेका बेला आफ्नो सिटबाट उठेर अगाडितर्फ बढेकी तामाङलाई सुरुमै रास्वपाकै सांसदहरूले रोक्ने प्रयास गरेका थिए। रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठलगायत सांसदले उनलाई सम्हाल्ने प्रयास गरेका थिए।
स्थिति थप असहज बन्न थालेपछि रञ्जु दर्शना र ज्वाला संग्रौलाले तामाङलाई बैठक कक्षबाहिर लगेका थिए। त्यसपछि केही समय सदनको माहोल तनावग्रस्त बनेको थियो।
प्रधानमन्त्री बाहिरिएपछि फेरि चर्कियो विवाद
प्रधानमन्त्री शाहले विभिन्न दलका प्रतिनिधिका रूपमा प्रश्न राख्ने सांसदहरूको जिज्ञासाको जवाफ दिएका थिए। जवाफपछि उनी बैठकबाट बाहिरिएलगत्तै विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाएका थिए।
त्यसक्रममा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न समय माग्दै उठेपछि सभामुखले असन्तुष्टि जनाएका थिए। सदनको मर्यादा विपरीत गतिविधि भएको भन्दै सभामुखले एमालेका ऐन महर र श्रम संस्कृति पार्टीका ध्रुव राईको व्यवहारप्रति आपत्ति व्यक्त गरेका थिए।
सभामुखले श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई पनि प्रयोग गरिने भाषाप्रति सचेत रहन र संसदीय मर्यादा कायम गर्न ध्यानाकर्षण गराएका थिए।
सदनमा देखिएको यो घटनाक्रमले पछिल्लो समय संसदभित्र बढ्दो राजनीतिक तनाव र दलहरूबीचको टकरावलाई फेरि एकपटक सतहमा ल्याएको छ।