भारत भ्रमणमा रवि लामिछाने: आज मोदीसँग भेट

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
भारत भ्रमणमा रवि लामिछाने: आज मोदीसँग भेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भारतीय सत्तारुढ दलसँगको उच्चस्तरीय भेटघाटले यो भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण बनाएको छ।

भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग लगातार भेटवार्ता गरिरहेका छन्। मंगलबार उनले एस जयशंकर र अमित शाहसँग छुट्टाछुट्टै छलफल गरेका थिए। त्यसअघि भाजपा नेतृत्वसँग पनि उनको भेट भएको थियो।

नेपाल–भारत सम्बन्धदेखि राजनीतिक सहकार्यसम्म

भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध, साझा हितका विषय, लोकतान्त्रिक अभ्यास, सीमा तथा सुरक्षा सहकार्यका साथै दुई देशका राजनीतिक दलबीचको संवाद र सम्बन्ध विस्तारबारे विचार आदानप्रदान भएको बताइएको छ।

रास्वपाले यो भ्रमणलाई छिमेकी मुलुकसँगको राजनीतिक संवाद र सम्बन्ध विस्तारको अवसरका रूपमा लिएको छ। पछिल्लो समय नेपाली राजनीतिमा उदाएको नयाँ शक्तिका रूपमा रास्वपाले अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धलाई पनि प्राथमिकतामा राख्न थालेको संकेत यस भ्रमणले दिएको विश्लेषण भइरहेको छ।

भाजपाको विशेष स्वागत

भारत पुगेपछि लामिछाने र उनको टोलीलाई भाजपाले विशेष स्वागत गरेको थियो। स्वागतको शैली र उच्च तहका नेताहरूसँगको भेटघाटले भ्रमणप्रति भारतीय पक्षको चासो देखिएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ।

विज्ञापनविकिबिजि

रास्वपाका सभापति लामिछानेसहितको टोली जेठ २२ गते नेपाल फर्कने कार्यतालिका रहेको छ।