फर्किएँ भने २ महिना सेल्फी निषेध: सुधन गुरुङ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
फर्किएँ भने २ महिना सेल्फी निषेध: सुधन गुरुङ

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुन सहयोग पुर्‍याउन आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठ्ने प्रश्नहरूको जवाफ दिन तयार रहनुपर्ने बताउँदै आफू छानबिन प्रक्रियामा पूर्ण रूपमा सहभागी भएको बताए।

छानबिन समितिसमक्ष बयान दिँदा कडा प्रश्नहरूको सामना गर्नुपरे पनि आफूले सबै प्रश्नको स्पष्ट र तथ्यगत जवाफ दिएको उनको भनाइ थियो।

सम्पत्तिको स्रोतबारे समितिले सोधेको प्रसंग सुनाउँदै गुरुङले कार्यक्रममै हल्का ठट्यौली शैलीमा प्रतिक्रिया दिएका थिए। समितिले सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न गरेपछि आफूले पनि समितिका सदस्यहरूको सम्पत्ति समेत छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरेको उनले सुनाए।

सफाइ पाउने विश्वास

गुरुङले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूमाथि लागेको शंकाबाट पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गरे।

विज्ञापनविकिबिजि

उनले आफू निर्दोष सावित भए र पुनः गृह मन्त्रालयको जिम्मेवारी पाए सुरुआती दुई महिना बधाई दिन र तस्वीर खिच्न मन्त्रालय नआउन समर्थक तथा शुभेच्छुकलाई आग्रहसमेत गरे।

‘काम गर्न समय चाहिन्छ, त्यसैले सुरुका दिनहरूमा भेटघाटभन्दा कामलाई प्राथमिकता दिन चाहन्छु,’ उनले भने।

जिल्ला नेतृत्वलाई राजधानी मोह त्याग्न आग्रह

सम्बोधनका क्रममा गुरुङले रास्वपाको जिल्ला नेतृत्व स्थानीय तहसँग निरन्तर जोडिनुपर्नेमा जोड दिए।

  • जिल्ला सभापति जिल्लामै बसेर संगठन विस्तारमा सक्रिय हुनुपर्ने
  • चुनावका बेला मात्र जनता खोज्ने प्रवृत्तिले पार्टीलाई फाइदा नपुग्ने
  • स्थानीय मुद्दा र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने

उनले आफू गृहमन्त्री रहँदा देशभरका नागरिकबाट उल्लेखनीय साथ र सहयोग प्राप्त भएको दाबी गर्दै त्यही विश्वासलाई आगामी दिनमा पनि कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।