सुधन गुरुङ पुनः गृहमन्त्री

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सुधन गुरुङ पुनः गृहमन्त्री

आज भएको मन्त्रिपरिषद् विस्तारसँगै केही साताअघि विवादका कारण गृहमन्त्री पदबाट बाहिरिएका सुधन गुरुङ पुनः सरकारमा फर्किएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गुरुङले फेरि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् भने प्रतिनिधिसभा सदस्य महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन्।

दिउँसो ३ बजेका लागि तय गरिएको शपथ कार्यक्रम झण्डै डेढ घण्टा ढिला सुरु भएको थियो। शपथका लागि दुवै मन्त्री राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए।

गुरुङको पुनरागमनले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ। उनी २६ दिनमात्र गृहमन्त्री रहेपछि पदबाट बाहिरिएका थिए। त्यसबेला उनीमाथि सम्पत्ति विवरणमा केही लगानी र ऋणसम्बन्धी विवरण उल्लेख नगरेको आरोप लागेको थियो।

विवादको केन्द्रमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी इन्स्योरेन्समा गरिएको लगानी थियो। ती कम्पनीका सेयर खरिद गरेको तथ्य सार्वजनिक भए पनि मन्त्री बनेपछि बुझाइएको सम्पत्ति विवरणमा त्यसबारे उल्लेख नभएको प्रश्न उठेको थियो। त्यसपछि उनले दिएको स्पष्टीकरणले झन् विवाद बढाएको थियो।

सार्वजनिक भएको कागजातअनुसार ती सेयर खरिदका लागि लिएको ऋणसमेत सम्पत्ति विवरणमा नदेखिएको विषय चर्चामा आएको थियो। यही कारण पारदर्शिता र नैतिकताको प्रश्न उठेपछि गुरुङले राजीनामा दिएका थिए।

विज्ञापनविकिबिजि

राजीनामा दिँदा उनले आफूले नैतिक जिम्मेवारी लिएको र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका थिए। त्यसयता उनीमाथि लागेको आरोपबारे राजनीतिक तथा सार्वजनिक बहस जारी रहँदै आएको छ।

यद्यपि सरकारको पछिल्लो निर्णयसँगै गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। उनको पुनर्नियुक्तिले सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धता, सार्वजनिक विश्वास र राजनीतिक जवाफदेहिताबारे नयाँ प्रश्न उठाएको छ।

उता, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय महावीर पुन मन्त्री बनेपछि सरकारले डिजिटल रूपान्तरण, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ पहल अघि बढाउने अपेक्षा गरिएको छ।

अब सबैको ध्यान गुरुङमाथि उठेका प्रश्नको छानबिन कसरी अघि बढ्छ र सरकारले पारदर्शिताका विषयमा कस्तो सन्देश दिन्छ भन्नेमा केन्द्रित भएको छ।