पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेल भर्खरै मात्र सुर्खेतबाट पक्राउ परेका छन् । एमाले पार्टी पुनर्संरचना गर्नको लागि सुर्खेतमा नेता तथा कार्यकर्तामाझ सुझाव माग्दै गरेका बेला कार्यक्रम स्थलमै प्रहरी गएर उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुर्याएका पौडेललाई भर्खरै त्यहाँबाट नेपालगञ्ज लगिएको छ र आज नै उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको गृहमन्त्रालय स्रोतले खोज समाचारलाई जानकारी गराएका छन् ।
सरकारले सुरु गरेको सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा यसअघि पक्राउ परेका बिचौलिया तथा व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्ध रहेको हुन सक्ने आशंकासहित आज दिउँसो काठमाडौंको भैँसेपाटीस्थित रहेको पौडेलको डेरामा छापा मारेको थियो भने सो छापापछि पौडेललाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो ।
हामीलाई प्राप्त सूचना अनुसार पौडेलले खरिद गरेको जग्गा र कारोबार गरेको सेयरमा विभागले केही शंकास्पद अर्थात् स्रोत नभेटेपछि थप अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
२०६२/६३ यताका सबै राजकीय पदमा बसेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न सरकारले एउटा शक्तिशाली आयोग गठन गरिसकेको छ भने, सरकारकै मातहतमा रहेको सम्पत्ति शुद्धीकरण विभागले आफ्नो तरिकाले छुट्टै अनुसन्धान गरिरहेको छ ।
आयोगले योभन्दा अगाडि नै एमाले अध्यक्ष के.पी. ओली, नेकपाका संयोजक प्रचण्ड, कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा, कांग्रेसकै अर्का नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काको सम्पत्ति छानबिन गरिरहेको छ । यही छानबिनलाई आधार बनाएर आयोगले केही समयअघि शेरबहादुर देउवा र आरजु राणा विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत लिएको थियो ।
तर उक्त पुर्जी सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा पुराना दलका ८०% माथिका नेताहरू पालैपालो यसरी नै पक्राउ पर्ने सक्ने सम्भावना एकदमै बढ्दो देखिन्छ किनकि, नेपालमा चप्पल पड्काएर राजनीतिमा जाने अनि बिना जागिर र व्यवसाय केवल राजनीति गरेकै भरमा करोडौँको चलअचल सम्पत्ति र विलासिताको जीवन नेताहरूले बाँचिरहेका छन् ।
योसँगै अर्को मुख्य कारण भनेको बिचौलियाको राजा मानिने दीपक भट्टसँगको कनेक्सन हो । दीपक भट्ट हाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । यिनै भट्टसँग मिलेर सेयर कारोबारदेखि, जग्गा-जमिन कारोबार अनि विभिन्न सरकारी ठेक्कापट्टासम्ममा धेरै नेताहरूले काम गर्दै आएका थिए ।
तर अहिलेको सरकार शक्तिशाली बिचौलिया भट्टलाई नै पक्राउ गरेपछि उनको बयान र अनुसन्धानबाट थप भिआइपी र भिभिआइपी तानिन थालेका छन् ।