रास्वपाले निर्णय सच्यायो, शोम शर्मा नै केन्द्रीय सदस्य
राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीमा गरेको हेरफेर सच्याउँदै शोम शर्मालाई नै केन्द्रीय सदस्य कायम गर्ने अन्तिम निर्णय गरेको छ।
चितवनमा सम्पन्न महाधिवेशनको आन्तरिक निर्वाचनमा गण्डकी प्रदेशतर्फ चौथो धेरै मत ल्याएका शर्मालाई हटाएर उनीभन्दा कम मत प्राप्त गरेकी पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएपछि पार्टीको निर्णय विवादमा परेको थियो। चौतर्फी आलोचना र मतपरिणाममाथि उठेका प्रश्नपछि रास्वपाले पुनः शर्मा नै निर्वाचित भएको निर्णय गरेको हो।
खोज समाचारले यसअघि मतपरिणाम र पार्टीले सार्वजनिक गरेको नामावलीबीच देखिएको असंगतिबारे भिडियो प्रमाणसहित प्रश्न उठाएको थियो। उक्त सामग्री सार्वजनिक भएपछि कतिपय रास्वपा कार्यकर्ताले समाचारप्रति आक्रोश व्यक्त गरेका थिए। तर पार्टीले नै निर्णय सच्याएपछि प्रारम्भिक छनोट प्रक्रियामाथि उठाइएको प्रश्न थप सान्दर्भिक बनेको छ।
यस्तो थियो गण्डकीको मतपरिणाम
रास्वपाले महाधिवेशनमा आन्तरिक निर्वाचनमार्फत ९९ जना केन्द्रीय सदस्य चयन गरेको थियो। निर्वाचनका लागि राष्ट्रिय र प्रदेश गरी दुई क्षेत्र निर्धारण गरिएको थियो।
प्रदेशतर्फ प्रत्येक प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था थियो। ती पाँचमध्ये कम्तीमा दुई जना महिला हुनुपर्ने प्रावधान पनि राखिएको थियो।
गण्डकी प्रदेशतर्फ पवित्रा थापाले एक हजार ७६ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी थिइन्। थापाको विजयसँगै अनिवार्य दुई महिला सदस्यमध्ये एक स्थान पूरा भएको थियो।
मनिष खनाल एक हजार ५२ मतसहित दोस्रो, सागर भुसाल एक हजार ४० मतसहित तेस्रो र शोम शर्मा ९९३ मतसहित चौथो भएका थिए।
पहिलो चार स्थानमध्ये एक जना मात्र महिला भएकाले पाँचौँ सदस्य अनिवार्य रूपमा महिला हुनुपर्ने अवस्था थियो। सोही आधारमा ८०० मत प्राप्त गरेकी विष्णुकुमारी गुरुङलाई निर्वाचित सदस्यको सूचीमा समावेश गरिएको थियो।
तर गण्डकीबाटै उम्मेदवार बनेकी पूजा बास्तोलाले ९१३ मत प्राप्त गरेकी थिइन्। महिला उम्मेदवार बास्तोलाले गुरुङभन्दा ११३ मत बढी ल्याए पनि आफू निर्वाचित नभएको भन्दै प्रश्न उठाएकी थिइन्।
बास्तोलाले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै मतपरिणामअनुसार आफू निर्वाचित हुनुपर्ने दाबी गरेकी थिइन्। उनले निर्णय नसच्याइए सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएकी थिइन्।
महिला प्रतिशत मिलाउन शर्मा हटाइए
बास्तोलाको आपत्तिपछि रास्वपाले केन्द्रीय समितिमा ५१ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भन्दै गण्डकीबाट निर्वाचित शोम शर्माको स्थानमा बास्तोलालाई समावेश गर्ने निर्णय गरेको थियो।
तर यो निर्णयसँगै अर्को प्रश्न उठ्यो—आन्तरिक निर्वाचनमा चौथो धेरै मत ल्याएर निर्वाचित भएका शर्मालाई पार्टीले कुन आधारमा हटायो?
महिला सहभागिता सुनिश्चित गर्नुपर्ने दायित्व पार्टीको भए पनि त्यसको भार निर्वाचन जितेका एक उम्मेदवारमाथि मात्र पारिएको भन्दै निर्णयको आलोचना भयो। मतदाताले दिएको मत र महाधिवेशनको निर्वाचन परिणामलाई पछि गरिएको प्रशासनिक निर्णयले उल्ट्याएको आरोपसमेत लाग्यो।
विवाद बढ्दै गएपछि पार्टीले बास्तोलालाई हटाएर शर्मा नै केन्द्रीय सदस्य रहने अन्तिम निर्णय गरेको हो।
पूजा होइन, विष्णुकुमारी किन?
शर्मालाई पुनः केन्द्रीय सदस्य बनाइएपछि पनि अर्को प्रश्न भने बाँकी थियो—पूजा बास्तोलाले बढी मत ल्याउँदा विष्णुकुमारी गुरुङलाई किन यथावत् राखियो?
रास्वपाका सांसद शर्माले खोज समाचारसँग कुरा गर्दै यो निर्णय पार्टीको क्लस्टरसम्बन्धी व्यवस्थाअनुसार गरिएको बताएका छन्।
उनका अनुसार गण्डकी प्रदेशतर्फ पहिलोदेखि चौथो स्थानसम्म निर्वाचित सबै उम्मेदवार खसआर्य समुदायका थिए। पार्टीको विधानअनुसार पाँच सदस्यको समूहमा जातीय तथा सामाजिक क्लस्टरसमेत मिलाउनुपर्ने भएकाले कम्तीमा एक जना जनजाति समुदायबाट समेट्नुपर्ने अवस्था थियो।
विष्णुकुमारी गुरुङ महिला मात्र नभई जनजाति क्लस्टरबाट समेत प्रतिनिधित्व गर्ने भएकाले पूजा बास्तोलाभन्दा कम मत प्राप्त गरे पनि उनलाई पाँचौँ सदस्यका रूपमा चयन गरिएको पार्टीको स्पष्टीकरण छ।
यस आधारमा गण्डकीबाट पवित्रा थापा र विष्णुकुमारी गुरुङ महिला सदस्यका रूपमा समेटिएका छन् भने गुरुङको चयनले जनजाति क्लस्टरसमेत पूरा गरेको छ। मनिष खनाल, सागर भुसाल र शोम शर्मा अन्य तीन निर्वाचित सदस्यका रूपमा कायम भएका छन्।
पार्टीले सुरुबाटै मत, लैंगिक प्रतिनिधित्व र क्लस्टरको मापदण्ड स्पष्ट रूपमा सार्वजनिक गरेको भए विवाद यति धेरै नबढ्न सक्थ्यो। निर्णय पटक–पटक फेरिँदा भने आन्तरिक निर्वाचनको विश्वसनीयता र नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ।
यो प्रकरणले राजनीतिक दलका कार्यकर्ता र समर्थकले कुनै पनि सार्वजनिक प्रश्नलाई तत्काल पार्टीविरोधी आक्रमणका रूपमा बुझ्न नहुने सन्देश पनि दिएको छ। तथ्यका आधारमा उठाइएका प्रश्नको जवाफ गाली वा आक्रोशबाट होइन, पारदर्शी निर्णय र स्पष्ट स्पष्टीकरणबाट दिनुपर्छ।
अन्ततः रास्वपाले शोम शर्मालाई नै केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। तर यो विवादले मतपरिणाम, समावेशिता र पार्टी विधानबीच सन्तुलन कायम गर्दा निर्णय प्रक्रिया कति स्पष्ट र विश्वसनीय हुनुपर्छ भन्ने बहस भने पुनः सतहमा ल्याएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
जनताका लागि राज्य भएको आभास दिलाउँदै गृहमन्त्री सुदन गुरुङ
जुन जेन्जीले सत्तामा पुर्यायो, आज त्यही जेन्जी पक्राउ
ऊर्जा मन्त्री श्रेष्ठको ‘झ्याप्प–झ्याप्प’ अभियानमा कुलमानको काउन्टर
बोलेकै भरमा एकपछि अर्को पक्राउ: के सरकार तानाशाहीको बाटोमा?
‘किसानले मल कहिले पाउँछन्?’ – सांसद सन्तोष राजवंशीको सरकारलाई प्रश्न
ईयूको हवाई सुरक्षा सूचीबाट नेपाल हटाउन सरकारलाई रास्वपाको आग्रह
नक्कली भुटानी शरणार्थी काण्ड: १६ दोषी, ७ सफाई, ८ फरार