गाडी राखेर सञ्चारगृह अवरोधप्रति रास्वपा सांसद मनिष झाको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा धनुषा–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले काठमाडौंका सञ्चारगृहलगायत विभिन्न स्थानको प्रवेशद्वारमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
झाले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै घटनामा संलग्न व्यक्तिको पहिचान गरी निष्पक्ष अनुसन्धान र कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्।
“सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,” झाले लेखेका छन्।
२९ असारको बिहान काठमाडौंका कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनसहित तीन सञ्चारगृह, भाटभटेनी सुपरमार्केट तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि बाटो अवरुद्ध हुने गरी गाडी राखिएको पाइएको थियो। प्रहरीले पाँचवटै गाडी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
एकै बिहान विभिन्न संवेदनशील स्थानका प्रवेशद्वारमा गाडी छाडिएको घटनालाई लिएर उक्त कार्य सामान्य पार्किङ मात्र थियो वा नियोजित रूपमा अवरोध र मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास थियो भन्ने प्रश्न उठेको छ।
आफ्नै दलसँग जोडिएको गाडीबारे पनि छानबिनको माग
कान्तिपुर पब्लिकेसन्सको प्रवेशद्वारअगाडि राखिएको एउटा गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ। प्रहरीका अनुसार उक्त गाडी ज्योति कन्सर्नको नाममा रहे पनि जयसवालले बुकिङ गरी प्रयोग गर्दै आएका थिए।
तर जयसवाल स्वयं, रास्वपा वा अन्य कुनै निकायको निर्देशनमा गाडी त्यहाँ राखिएको पुष्टि गर्ने प्रमाण सार्वजनिक भइसकेको छैन। प्रहरीले गाडी कसले चलाएर ल्याएको थियो, किन प्रवेशद्वारमै छाडियो र विभिन्न स्थानमा भएका घटनाबीच सम्बन्ध छ कि छैन भन्ने विषय अनुसन्धानमै रहेको जनाएको छ।
आफ्नै दलका नेताले प्रयोग गर्ने गाडी घटनास्थलमा भेटिए पनि प्रवक्ता झाले संलग्न जोसुकै भए पनि छानबिन र कारबाही हुनुपर्ने स्पष्ट धारणा राखेका छन्। उनको अभिव्यक्तिले घटनालाई राजनीतिक संरक्षण दिएर ढाकछोप गर्न नहुने सन्देश दिएको छ।
‘राज्यले नागरिकलाई थप त्रसित बनाउने होइन’
सांसद झाले नागरिकमा उत्पन्न चिन्ता र असुरक्षालाई राज्यले समाधान गर्नुपर्नेमा राज्यकै व्यवहारबाट थप त्रास सिर्जना हुनु आपत्तिजनक हुने बताएका छन्।
“राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतंकित बनाउने होइन,” उनले लेखेका छन्।
राज्य सञ्चालन जिम्मेवार, परिपक्व र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै झाले घटनालाई लिएर सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्।
“यस्तो बचपना देखाएर राजकाज चल्छ?” उनले प्रश्न गरेका छन्।
झाले जेन–जी आन्दोलनमा भएको बलिदानलाई स्मरण गर्दै परिवर्तनपछि पनि राज्य संयन्त्रबाट स्तरहीन र गलत अभ्यास हुनु स्वीकार्य नहुने बताएका छन्। “के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन–जीको सहादत भएको हो?” भन्दै उनले घटनाप्रति घोर आपत्ति जनाएका छन्।
