विष्णु पौडेल साधारण तारेखमा रिहा
विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ। तत्काल उपलब्ध प्रमाणले उनीमाथि थुनछेकका लागि आवश्यक आधार पुष्टि नगरेको ठहर गर्दै अदालतले धरौटीसमेत माग्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलको संलग्नता देखाउने प्रत्यक्ष आधार हालसम्मका प्रमाणबाट नखुलेको उल्लेख गरेको छ।
अदालतले आदेशमा पौडेलले आफूमाथिको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएको विषयलाई पनि आधार बनाएको छ। त्यस्तै, दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार भएको वा त्यसबाट सम्पत्ति तथा अन्य लाभ प्राप्त गरेको तथ्य तत्काल प्राप्त प्रमाणबाट स्थापित हुन नसकेको अदालतको ठहर छ।
यी आधारमा पौडेललाई थुनामा राखेर वा धरौटी लिएर मुद्दा अघि बढाउन आवश्यक नदेखिएको भन्दै विशेष अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। अदालतको पछिल्लो आदेशसँगै अब उनी हिरासतबाहिरै रहेर मुद्दाको थप प्रक्रियामा सहभागी हुनेछन्।
