प्रधानमन्त्री शाह र मन्त्री मेहताबीच कार्यसम्पादन सम्झौता
चालु आर्थिक वर्षमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट अघि बढाइने प्रमुख काम र हासिल गर्नुपर्ने उपलब्धिलाई स्पष्ट जिम्मेवारीसँग जोड्दै प्रधानमन्त्री वालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री मेहताले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि दुवै पक्षले सम्झौताको प्रति आदानप्रदान गरेका छन्।
सरकारले चालु आर्थिक वर्षका प्राथमिकतालाई कार्यान्वयन तहमा परिणाममुखी बनाउने उद्देश्यअनुसार उक्त सम्झौता गरेको हो। सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित काम तथा अपेक्षित उपलब्धिलाई केन्द्रमा राखिएको छ।
कार्यसम्पादन सम्झौताले मन्त्रालयले आर्थिक वर्षभरि अघि बढाउने काम र त्यसबाट हासिल गर्नुपर्ने नतिजालाई प्रधानमन्त्रीसमक्ष गरिएको संस्थागत प्रतिबद्धताका रूपमा स्थापित गरेको छ। यसले नीति र कार्यक्रम घोषणा गर्ने चरणभन्दा अगाडि बढेर कार्यान्वयन तथा उपलब्धिको मूल्यांकनमा समेत जिम्मेवारी स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता क्षेत्र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले मन्त्रालयको कार्यसम्पादनले सार्वजनिक सेवा प्रवाहदेखि खाद्य स्वच्छता र नागरिक हितसँग सम्बन्धित सरकारी प्रयासमा समेत प्रभाव पार्नेछ।

