राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी २ जुनमा भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणलाई अहिले काठमाडौं र दिल्ली दुवैतर्फ चासोका साथ हेरिएको छ।
स्रोतहरूका अनुसार लामिछाने २ जुनमा काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने तयारी भएको बताइएको छ। यद्यपि उच्चस्तरीय भेटबारे भारतीय पक्षले औपचारिक घोषणा गरिसकेको छैन।
लामिछानेसँग उनकी पत्नी, स्वकीय सचिवसहित रास्वपाका दुई सांसद पनि भारत जाने कार्यक्रम छ। सांसद विपिनकुमार आचार्य र दीपक बोहरा भ्रमण टोलीमा सहभागी रहने बताइएको छ।
मोदी, जयशंकर र डोभालसँग भेटको तयारी
दिल्ली भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको रास्वपा निकट स्रोतहरूले बताएका छन्।
भाजपाको मुख्यालयमा उनलाई स्वागत गर्ने तयारीसमेत भइरहेको छ। त्यहाँ भाजपा अध्यक्ष नितिन नवीनसँग छुट्टै राजनीतिक भेटवार्ता हुने बताइएको छ।
भ्रमणको मुख्य एजेन्डा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र दुई देशबीचको राजनीतिक संवादलाई अघि बढाउने विषय रहने स्रोतको दाबी छ।
बालेन सरकार बनेपछि पहिलो उच्च राजनीतिक भ्रमण
बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि रास्वपा नेतृत्वबाट भारत जाने लामिछाने पहिलो प्रमुख नेता हुनेछन्। निर्वाचनपछि दुईतिहाइ समर्थनसहित सरकार बने पनि नेपाल–भारत सम्बन्धमा उल्लेखनीय प्रगति हुन नसकेको टिप्पणी भइरहेका बेला यो भ्रमण हुन लागेको हो।
प्रधानमन्त्री शाहको भारत भ्रमण अझै अनिश्चित छ। त्यहीबीच लामिछानेको दिल्ली यात्रा तय भएपछि राजनीतिक वृत्तमा यसको अर्थ खोजिन थालेको छ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणसमेत रोकिएको अवस्थामा रास्वपा सभापतिको भ्रमणलाई कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
अयोध्या भ्रमण पनि तय
दिल्ली बसाइपछि लामिछाने अयोध्या पनि जाने कार्यक्रम रहेको बताइएको छ। भारतीय जनता पार्टी निकट धार्मिक तथा राजनीतिक कार्यक्रमहरूमा उनको सहभागिता हुन सक्ने चर्चा छ।
भारतले यसअघि पनि नेपालका प्रमुख दलका नेताहरूलाई विदेश मन्त्रालयमार्फत निमन्त्रणा गर्दै आएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत यस्तै प्रकृतिको भ्रमण गरिसकेका थिए।