नक्कली भुटानी शरणार्थी काण्ड: १६ दोषी, ७ सफाई, ८ फरार

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नक्कली भुटानी शरणार्थी काण्ड: १६ दोषी, ७ सफाई, ८ फरार

प्रचण्डको पालामा सुरु भएको नक्कली भुटानी शरणार्थी काण्डको हिजो अन्ततः टुंगो लागेको छ। काठमाडौं जिल्ला अदालतले ३० मुख्य र १ पूरक गरी जम्मा ३१ प्रतिवादीमध्ये पूरक मुद्दामा पछि थपिएको बेचन झासहित १६ जनालाई दोषी ठहर गरेको छ भने ७ जनाले सफाइ पाएका छन् र ८ जना अझै फरार रहेका छन्।

आफ्नै देशका नागरिकलाई पैसाको लोभमा भुटानी शरणार्थी बनाई बेच्न खोज्ने ठूलो गिरोह विरुद्ध अदालतले हिजो बेलुका ऐतिहासिक फैसला सुनाएको हो।

दोषी ठहर भएका प्रमुख अनुहारहरू

यस प्रकरणमा दोषी ठहरिएकाहरूमध्ये सबैभन्दा ठूलो नाम हो — पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण। उनलाई जिल्ला अदालतले संगठित अपराधको मतियारको रूपमा दोषी ठहर गरेको छ।

अर्को ठूलो नाम हो — पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का प्रभावशाली नेता टोपबहादुर रायमाझी, जसलाई संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।

यसैगरी दोषी ठहर हुने अर्को भिआईपी हुन् — इन्द्रजित राई, जो तत्कालीन गृहमन्त्री तथा हाल नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा “बादल”का सल्लाहकार थिए। राईलाई पनि संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।

अर्का भिआईपी हुन् — पूर्वगृहसचिव टेकनारायण पाण्डे, जसलाई अदालतले सरकारी लिखत किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।

यस प्रकरणमा दोषी ठहर हुने अर्को व्यक्ति हुन् — टेकनाथ रिजाल, जो आफूलाई भुटानी शरणार्थीहरूको नेता भनी चिनाउने गर्थे। तर पैसाको अगाडि उनको नेतागिरी बिकेपछि अदालतले उनलाई सरकारी कागजात किर्ते र संगठित अपराधको मतियारको रूपमा दोषी ठहर गरेको छ।

यसमा अर्को चर्चित नाम हो — केशव प्रसाद दुलाल। यो प्रकरणमा दुलाल मुख्य बिचौलियाको रूपमा चिनिन्छन्। मन्त्रीहरूलाई मनाउनेदेखि रकम लेनदेन गर्नेसम्मको काम यिनैले गरेका थिए। उनलाई मुख्य योजनाकारको रूपमा दोषी ठहर गर्दै जिल्ला अदालतले ठगी, किर्ते र संगठित अपराधमा दोषी ठहर गरेको छ।

दोषी ठहर भएका अन्य व्यक्तिहरू

माथिका प्रमुख अनुहारहरूबाहेक तलका व्यक्तिहरू पनि दोषी ठहर भएका छन्:

  1. सानु भण्डारी
  2. सागर राई
  3. सन्देश शर्मा
  4. विक्रम भन्ने गोविन्द कुमार चौधरी
  5. आडटावा शेर्पा
  6. नरेन्द्र के.सी.
  7. शमशेर मिया
  8. हरिभक्त महर्जन
  9. निरञ्जन कुमार खरेल
  10. बेचन झा

बेचन झाको पूरक मुद्दा: यो कुरा याद राख्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सुरुमा ३० जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो। ती ३० जनामध्ये हिजो १५ जनालाई दोषी ठहर गरियो। तर यही मुद्दामा पछि बेचन झा भन्ने अर्को व्यक्तिलाई पनि पक्राउ गरी उनी विरुद्ध पूरक मुद्दा दायर भएको थियो।

हिजो अदालतले बेचन झालाई पनि दोषी करार गरेको छ। यसरी मूल मुद्दाका १५ र पूरक मुद्दाका बेचन झा गरी १ — जम्मा हिजो अदालतबाट दोषी ठहर हुनेको संख्या १६ पुगेको हो।

सजाय निर्धारण कहिले हुने?

माथिका यी १६ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरिएको छ। उनीहरू विरुद्ध यही असार २९ गते, अर्थात् अबको ५ दिनपछि, कसलाई कति वर्ष जेल र कति जरिवाना हुने भन्ने विषयमा अदालतले सजाय निर्धारण गर्नेछ।

३ वर्ष वा सोभन्दा माथिको सजाय हुने यस्ता मुद्दामा पहिले को दोषी हो भनेर फैसला गरिन्छ, त्यसपछि मात्र उनीहरू विरुद्ध कस्तो सजाय दिने भनेर छुट्टै फैसला गरिन्छ।

फरार रहेका ८ जना

यसै प्रकरणमा अदालतमा मुद्दा दायर भए तापनि हालसम्म पक्राउ नपरेका बाँकी ८ जनालाई फरार सूचीमा राखिएको छ:

  1. अशोक पोखरेल
  2. धिरेन राई
  3. दीपा हुमागाई
  4. निरज राई
  5. राजेश अर्याल
  6. मोहनराज राई
  7. बिनिता सावदेन लिम्बु
  8. सुनिल बुढाथोकी

यी ८ जनाको हकमा भने पक्राउ परेपछि मात्र को दोषी को निर्दोष भन्ने कुरा तय गरिनेछ भनिएको छ।

सफाई पाएका ७ जना

यही मुद्दामा ७ जनाले भने पूर्ण रूपमा सफाई पाएका छन्:

  1. रामशरण के.सी.
  2. टंक कुमार गुरुड
  3. सन्दीप रायमाझी
  4. प्रतीक थापा
  5. लक्ष्मी महर्जन
  6. केशव तुलाधर
  7. आशिष बुढाथोकी

यी ७ जनाले नक्कली भुटानी शरणार्थी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पूर्ण रूपमा सफाई पाएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपदेखि अनुसन्धानसम्म

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने आश्वासन दिई करोडौं रुपैयाँ ठगी गरेको आरोपमा ३० जना विरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न कसुरमा मुद्दा दायर गरेको थियो।

अभियोगपत्रअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाललगायतले विभिन्न व्यक्तिबाट करिब २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोप लगाइएको थियो।

उनीहरूमाथि ठगी, सरकारी कागजात किर्ते, संगठित अपराध, राष्ट्रहितविपरीतको कार्य तथा एकीकृत कसुरअन्तर्गत मुद्दा दायर गरिएको थियो। सरकारी वकिलले निम्न सजायको माग गरेको थियो:

  • ठगी र सरकारी कागजात किर्ते: सात–सात वर्षसम्म कैद तथा ७०–७० हजार रुपैयाँसम्म जरिवाना
  • संगठित अपराध र राष्ट्रहितविपरीतको कसुर: पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना
  • एकीकृत कसुर: थप सजाय
  • पीडितलाई क्षतिपूर्ति भराउनसमेत माग गरिएको थियो

अनुसन्धानका क्रममा तत्कालीन गृहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन दुरुपयोग गरी नक्कली सूची बनाइएको आरोप पनि लगाइएको थियो। कार्यदलको प्रतिवेदनमा पुनर्वासका लागि छुट भएका ४२९ जनाको विवरण उल्लेख भए पनि, त्यसमा थप नाम समावेश गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा देखाइएको अभियोगपत्रमा उल्लेख छ।

सरकारी पक्षले योजनाबद्ध रूपमा गृह प्रशासनका केही अधिकारी, बिचौलिया र अन्य व्यक्तिहरूको संलग्नतामा आपराधिक समूह सञ्चालन भएको दाबी गरेको थियो। अभियोगपत्रअनुसार सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापाले समूहको नेतृत्व तहमा रहेर भूमिका निर्वाह गरेका थिए भने अन्य २५ जनाले विभिन्न जिम्मेवारी बाँडफाँट गरी काम गरेको आरोप छ।

यसरी सुरु भएको थियो प्रकरण

सन् १९९० को दशकमा भुटानबाट विस्थापित भएका नेपालीभाषी भुटानीहरू नेपालका झापा र मोरङस्थित विभिन्न शिविरमा बसोबास गर्न थाले। नेपाल, भुटान र अन्तर्राष्ट्रिय समुदायबीच लामो प्रयासपछि अधिकांश शरणार्थीलाई अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत तेस्रो मुलुकमा पुनर्वास गरियो।

पछि नेपालमा बाँकी रहेका शरणार्थीको अवस्था अध्ययन गर्न सरकारले २०७६ जेठ ३० गते पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गर्‍यो। सोही प्रतिवेदनको दुरुपयोग गर्दै केही नेपाली नागरिकको नाम शरणार्थी सूचीमा थपिएको अनुसन्धानबाट खुलेको थियो।

अनुसन्धानले २०७६ सालदेखि नै नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभन देखाई रकम असुल्ने गिरोह सक्रिय रहेको देखाएको थियो। प्रहरीका अनुसार:

  • सुरुमा ८१ जना पीडितबाट १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी भएको उजुरी परेको थियो
  • प्रत्येक व्यक्तिबाट १५ देखि २० लाख रुपैयाँसम्म उठाइएको दाबी गरिएको छ
  • पछि उजुरीकर्ताको संख्या १०६ पुगेको थियो

२०७९ जेठ १८ गते गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीको नेतृत्वमा ८१ जनाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि यो प्रकरण सार्वजनिक भएको थियो। उनीहरूले अमेरिका पठाइदिने आश्वासनमा करोडौं रुपैयाँ उठाएर ठगी गरिएको भन्दै केशव दुलाल, सानु भण्डारीलगायतलाई मुख्य आरोपितका रूपमा किटानी गरेका थिए।