ट्रोलपछि ज्ञानेन्द्र शाहीको व्यंग्य: ‘आज कन्टेन्टको कमी छैन’

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
ट्रोलपछि ज्ञानेन्द्र शाहीको व्यंग्य: ‘आज कन्टेन्टको कमी छैन’

सामाजिक सञ्जालमा व्यापक आलोचना र ट्रोलको सामना गरेपछि प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले व्यंग्यात्मक शैलीमा प्रतिक्रिया जनाएका छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै जापानको मदिराको प्रसंगदेखि आफूलाई ट्रोल गर्नेहरूसम्मलाई कटाक्ष गरेका हुन्।

शाहीले ‘जापानको रक्सी कडा रहेछ’ भन्दै वर्षौँदेखि मनमा लुकाउन खोजेका केही कुरा मुखबाट निस्किएको उल्लेख गरेका छन्। लुकाउन खोजे पनि सत्य नलुक्ने टिप्पणी गर्दै उनले पोस्टमा ‘सहकारी ठग’, ‘गाँजडी ग्याङ’, ‘खराने ग्याङ’ र ‘टीओबी ग्याङ’ जस्ता आरोपात्मक तथा व्यंग्यात्मक शब्द प्रयोग गरेका छन्।

यद्यपि, उनले ती शब्द कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने स्पष्ट पारेका छैनन्। पोस्टमा उल्लेख गरिएका आरोपहरूको आधार वा थप विवरण पनि खुलाइएको छैन।

आफूले मदिरा सेवन नगरेको संकेत गर्दै शाहीले व्यंग्यमा लेखेका छन्, ‘खाँदै नखाएको रक्सी पनि लागेछ।’ पछिल्लो अभिव्यक्तिपछि आफूमाथि बनेका ट्रोल, भिडियो र प्रतिक्रियालाई उनले सामाजिक सञ्जालबाट आम्दानी गर्नेहरूका लागि ‘कन्टेन्ट’का रूपमा चित्रण गरेका छन्।

उनले विश्वभर रहेका नेपाली युवालाई सम्बोधन गर्दै आफूलाई जति रोस्ट गर्न र स्टाटस लेख्न मन लाग्छ, त्यति गर्न भनेका छन्। त्यसबाट राम्रो आम्दानी भए नेपाल फर्किने भाडासमेत जुटाइदिन उनले व्यंग्यात्मक आग्रह गरेका छन्।

विज्ञापनविकिबिजि

शाहीको पोस्टपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। उनका समर्थकहरूले पोस्टलाई आलोचकप्रतिको प्रतिवादका रूपमा लिएका छन् भने अन्य प्रयोगकर्ताले जनप्रतिनिधिले प्रयोग गर्ने भाषा र सार्वजनिक अभिव्यक्तिको स्तरमाथि प्रश्न उठाएका छन्।

राजनीतिक विवाद सामाजिक सञ्जालमा व्यक्तिगत कटाक्ष र ट्रोलसम्म पुगिरहेका बेला शाहीको पछिल्लो प्रतिक्रिया पनि त्यही बहसको नयाँ विषय बनेको छ। यसले राजनीतिक असहमति व्यक्त गर्ने शैली, जनप्रतिनिधिको जिम्मेवारी र डिजिटल प्लेटफर्ममा प्रयोग हुने भाषाबारे बहस थप चर्काउने देखिन्छ।