दलाल पुँजीको ‘नयाँ प्रतिनिधि’ रास्वपा : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि दलाल पुँजीपति वर्गको हित प्रतिनिधित्व गर्दै सत्ता सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
शनिबार नेकपाको कोशी प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले नेपालको पछिल्लो राजनीतिक शक्ति सन्तुलनबारे टिप्पणी गरेका हुन्। उनका अनुसार विगतमा नेपाली कांग्रेसले प्रतिनिधित्व गर्दै आएको भनिएको दलाल पुँजीवादी प्रवृत्तिको मुख्य राजनीतिक आधार अहिले रास्वपातर्फ सरेको छ।
खनालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको नीति र प्राथमिकतामाथि पनि प्रश्न उठाए। सरकार जनताको तल्लो तहको आवश्यकता र हितभन्दा फरक दिशामा अघि बढिरहेको उनको दाबी थियो।
सरकारले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेटले श्रमिक, निम्न आय भएका नागरिक र तल्लो वर्गको अपेक्षालाई सम्बोधन गर्न नसकेको खनालको भनाइ छ। उनले वर्तमान सत्ता संरचनाले आम नागरिकको जीवनसँग जोडिएका प्रश्नलाई केन्द्रमा राख्न नसकेको टिप्पणी गरे।
राजनीतिक परिवर्तनपछिको शक्ति संरचनाबारे चर्चा गर्दै खनालले २०६२/६३ को जनआन्दोलनपछि नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा हेर्न सकिने अवस्था रहेको बताए। तर अहिले राजनीतिक परिस्थिति बदलिएको र त्यही भूमिकामा रास्वपा अघि आएको उनको विश्लेषण छ।
खनालको अभिव्यक्ति रास्वपा नेतृत्वको सरकारप्रति प्रतिपक्षी कम्युनिष्ट नेताहरूबाट बढ्दै गएको राजनीतिक आलोचनाकै क्रममा आएको हो। उनले सरकारको वर्गीय चरित्र, आर्थिक नीति र सत्ता सञ्चालनको दिशामाथि प्रश्न उठाउँदै आफ्नो पार्टीले त्यसको राजनीतिक प्रतिवाद गर्नुपर्ने संकेतसमेत गरेका छन्।

