मिराज ढुंगानाको नेतृत्वमा चितवनमा पेट्रोलियम करविरुद्ध र्‍याली

Read this article also in : English

पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै जाँदा त्यसको असर अब सडकदेखि भान्सासम्म देखिन थालेको छ। इन्धन महँगिएसँगै दैनिक उपभोग्य वस्तु, खाद्यान्न र यातायात खर्चसमेत बढिरहेका बेला त्यसको विरोधमा चितवनका युवाहरू आइतबार फरक शैलीमा सडकमा उत्रिएका छन्। उनीहरूले मोटरसाइकल चढेर होइन, हातले डोर्‍याउँदै विरोध प्रदर्शन गरेका हुन्।

जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा सञ्चालन भइरहेको “गरी खान देऊ” अभियानअन्तर्गत आयोजित विरोध र्‍याली चौबीसकोठीबाट सुरु भएर लायन्सचोकसम्म पुगेको थियो। प्रदर्शनमा सहभागी युवाहरूले पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर हटाउन माग गर्दै नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले अहिले इन्धन मात्रै नभई खाद्यान्न, दैनिक उपभोग्य सामग्री र यातायात सबै महँगिएको बताएका छन्। आर्थिक संकटका बेला सरकारले थप करको भार बढाएर सर्वसाधारणलाई झन् दबाबमा पारेको उनीहरूको आरोप छ।

पेट्रोलियम पदार्थमा लगाइएका करको विरोध

अभियानका संयोजक मिराज ढुंगानाले सरकारले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा कर असुलिरहेको बताए।

  • भन्सार महसुल
  • प्रदूषण शुल्क
  • सडक मर्मत दस्तुर
  • पूर्वाधार विकास कर
  • मूल्य अभिवृद्धि कर (भ्याट)
  • हरित कर

ढुंगानाका अनुसार प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुग्दा त्यसको ठूलो हिस्सा करमै जाने गरेको छ।

र्‍यालीको नेतृत्व गरेका युवा बिशु लामा गुरुङले आन्दोलनको उद्देश्य सरकारले घाटामा पेट्रोल बेचोस् भन्ने नभएको बताए। संकटको समयमा लगाइएका अनावश्यक कर हटाउन दबाब सिर्जना गर्नु नै अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

उनले बढ्दो महँगीका कारण युवादेखि सर्वसाधारण परिवारसम्मको दैनिक जीवन प्रभावित भइरहेको बताए।

थप आन्दोलनको चेतावनी

आयोजकका अनुसार “पेट्रोलियम पदार्थमा ६ कर माफ अभियान” नाम दिइएको उक्त प्रदर्शनमा एक सयभन्दा बढी युवाहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले “गरी खान देऊ” र “महँगीको मारमा सुशासन फरार” लेखिएका ब्यानरसमेत बोकेका थिए।

आन्दोलनकारीहरूले पेट्रोलियम पदार्थमा लगाइएका कर तत्काल घटाउन वा खारेज गर्न माग गरेका छन्। माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
Google Add as preferred on Google