राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित रहने भएका छन्। समसामयिक राजनीतिक अवस्था र राष्ट्रिय चासोका विषयमा छलफल गर्न बोलाइएको बैठकमा दलहरूले आफ्ना प्रतिनिधि पठाउने तयारी गरेका छन्।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरिएको थियो। तर प्रमुख दलका शीर्ष नेताहरू भने विभिन्न कारणले बैठकमा नजाने भएका हुन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी नहुने भएका छन्। केही दिनअघि निमोनियाको उपचारपछि अस्पतालबाट घर फर्किएका प्रचण्ड अहिले चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। पार्टीका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सहभागी हुनेछन्।
त्यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि बैठकमा उपस्थित नहुने भएका छन्। कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको छ। केही विवरणअनुसार सांसद फिरदोश आलम पनि कांग्रेसको तर्फबाट सहभागी हुनेछन्।
बैठकमा नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर सहभागी हुने तयारी गरिएको छ। अन्य दलहरूले पनि आफ्ना प्रतिनिधिमार्फत धारणा राख्ने भएका छन्।
समसामयिक राजनीति केन्द्रमा
रास्वपाले वर्तमान राजनीतिक परिस्थिति, संसद्को भूमिका, राष्ट्रिय चासोका विषय र दलहरूबीच आवश्यक संवादका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ। भारत भ्रमणबाट फर्किएलगत्तै सभापति लामिछानेले सर्वदलीय बैठकको पहल गरेका हुन्।
पछिल्ला दिनमा बदलिएको राजनीतिक समीकरण, संसद्को प्रभावकारिता र राष्ट्रिय मुद्दामा दलहरूबीच सहकार्यको आवश्यकता बढिरहेका बेला बोलाइएको यो बैठकलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।