दिल्लीमा रवि–भाजपा भेट, चासोको केन्द्रमा रास्वपाको भारत भ्रमण

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
दिल्लीमा रवि–भाजपा भेट, चासोको केन्द्रमा रास्वपाको भारत भ्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आज भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्तामा सहभागी हुँदैछन्। भाजपा नेता नितिन नवीनको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा विभिन्न उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

रास्वपाका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा दुई देशका राजनीतिक शक्तिबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुनेछ।

नेपालमा उदाएका नयाँ राजनीतिक शक्तिहरूले क्षेत्रीय स्तरमा प्रत्यक्ष राजनीतिक संवाद विस्तार गर्ने प्रयास गरिरहेका बेला रास्वपा नेतृत्वको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। पार्टीले भ्रमणलाई दुई देशका राजनीतिक दलबीच समझदारी र संवादको दायरा फराकिलो बनाउने अवसरका रूपमा प्रस्तुत गरेको छ।

लामिछानेसँगै प्रतिनिधिमण्डलमा पार्टीका संयुक्त महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भारतमा बसोबास गरिरहेका नेपाली समुदाय तथा रास्वपाका समर्थकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। विभिन्न भेटघाट र संवादमार्फत प्रवासी नेपालीका चासो र अनुभवबारे पनि जानकारी लिने तयारी रहेको पार्टीले जनाएको छ।

विज्ञापनविकिबिजि

भ्रमण तालिकामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या भ्रमण पनि समावेश गरिएको छ। प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी केही दिनपछि नेपाल फर्किने कार्यक्रम छ।

रास्वपाले नेपालस्थित भारतीय पक्ष तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भ्रमणका कार्यक्रमहरू सञ्चालन भइरहेको जनाएको छ। पार्टीको विश्वास छ, यस भ्रमणले नेपाल–भारत सम्बन्धमा राजनीतिक संवादको नयाँ आयाम थप्नेछ।