रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने
मिडिया तथा व्यापारिक प्रतिष्ठानको प्रवेशद्वारमै अवरोध पुग्ने गरी गाडी पार्किङ गरिएको घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्वाभाविक र गम्भीर विषयका रूपमा लिएको छ। पार्टी सभापति रवि लामिछानेले घटनामा आफ्नै दलका नेता–कार्यकर्ता संलग्न देखिए पनि छानबिन र अनुशासनको दायराबाट उन्मुक्ति नपाउने बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टीले घटनाबारे आधिकारिक विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरिसकेको र त्यसबाट पछि नहट्ने स्पष्ट पारे।
उनका अनुसार मिडिया कार्यालयको गेट अवरुद्ध हुने गरी गाडी राख्नु सामान्य ट्राफिक उल्लंघनमा मात्र सीमित विषय होइन। यस्तो गतिविधि किन र कुन उद्देश्यले भयो भन्ने प्रश्नको समेत जवाफ खोजिनुपर्ने उनको भनाइ थियो।
“यो गलत हो भन्ने पार्टीले स्पष्ट गरिसकेको छ,” लामिछानेले भने, “घटनाको छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ भन्ने अडानमा हामी दृढ छौँ।”
विवादित गाडीलाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँको चिट काटेर छाडेको विवरण सार्वजनिक भइरहेका बेला लामिछानेले तत्काल कसलाई नियन्त्रणमा लिइयो वा छाडियो भन्ने विषयभन्दा समग्र घटनाको प्रकृति महत्त्वपूर्ण भएको बताए।
उनले प्रहरीको प्रारम्भिक कारबाहीलाई मात्र आधार बनाएर प्रकरणलाई टुंग्याउन नहुने संकेत गरे। मिडिया संस्थाको प्रवेशद्वारमै गाडी तेर्स्याउने प्रवृत्ति आफैँमा अस्वाभाविक देखिएकाले घटनाको पृष्ठभूमि र संलग्नताबारे गम्भीर छानबिन आवश्यक रहेको उनको तर्क थियो।
घटनामा रास्वपाकै कार्यकर्ता जोडिएको पुष्टि भए पार्टीले कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नमा लामिछानेले पार्टीको अनुशासन सबैका लागि समान हुने दाबी गरे।
“जो भए पनि कारबाही हुन्छ,” उनले भने, “रास्वपा आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेर देखाएको पार्टी हो। आफ्ना कार्यकर्ता भएकै आधारमा कसैले छुट पाउँदैन।”
पार्टी नेतृत्वले कडा कारबाहीको प्रतिबद्धता जनाए पनि घटनामा संलग्न भनिएका व्यक्तिमाथि हालसम्म ट्राफिक नियम उल्लंघनबापतको सामान्य जरिवानाबाहेक थप कानुनी प्रक्रिया अघि बढेको विवरण सार्वजनिक भएको छैन। यसले पार्टीको घोषित अडान र राज्यका निकायबाट भएको तत्कालीन कारबाहीबीचको अन्तरबारे प्रश्न उठाएको छ।
प्रधानमन्त्री बालेनसँग सुकुम्बासी समस्या र राजनीतिबारे छलफल
लामिछानेले हालै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँग भएको भेटबारे पनि जानकारी दिए। उनका अनुसार भेटमा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि चाल्नुपर्ने कदम र ती कदमलाई प्रभावकारी बनाउने उपायमा केन्द्रित छलफल भएको थियो।
सुकुम्बासी समस्या पटक–पटक राजनीतिक बहसको विषय बने पनि ठोस र दीर्घकालीन समाधान ननिस्किएको अवस्थामा सरकार र राजनीतिक दलबीच परिणाममुखी समन्वय आवश्यक रहेको लामिछानेको भनाइ थियो।
भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा विकसित हुन सक्ने परिस्थितिबारे समेत कुराकानी भएको उनले बताए। यद्यपि छलफलबाट कुनै औपचारिक निर्णय वा ठोस कार्ययोजना बनेको विषयमा उनले थप विवरण सार्वजनिक गरेनन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
जनताका लागि राज्य भएको आभास दिलाउँदै गृहमन्त्री सुदन गुरुङ
ताजा
रास्वपाले निर्णय सच्यायो, शोम शर्मा नै केन्द्रीय सदस्य
जुन जेन्जीले सत्तामा पुर्यायो, आज त्यही जेन्जी पक्राउ
ऊर्जा मन्त्री श्रेष्ठको ‘झ्याप्प–झ्याप्प’ अभियानमा कुलमानको काउन्टर
बोलेकै भरमा एकपछि अर्को पक्राउ: के सरकार तानाशाहीको बाटोमा?
‘किसानले मल कहिले पाउँछन्?’ – सांसद सन्तोष राजवंशीको सरकारलाई प्रश्न
ईयूको हवाई सुरक्षा सूचीबाट नेपाल हटाउन सरकारलाई रास्वपाको आग्रह
