राप्रपाको निर्देशन नमान्दा उद्धव थापा पार्टीबाटै आउट

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
राप्रपाको निर्देशन नमान्दा उद्धव थापा पार्टीबाटै आउट

बागमती प्रदेशसभामा नेकपा एमालेलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र कारबाहीसम्मको रूप लिएको छ। पार्टीको निर्णयविपरीत समर्थन पत्र बुझाएको भन्दै राप्रपाले प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको हो।

बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले थापालाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

विज्ञापन
khoj2

राप्रपाका अनुसार बागमती प्रदेशसभामा एमालेलाई समर्थन गर्ने गरी पार्टीले कुनै निर्णय गरेको थिएन। तर थापाले पार्टीको आधिकारिक धारणा र निर्देशनभन्दा बाहिर गएर एमालेको पक्षमा समर्थन पत्र बुझाएका थिए। यही विषयलाई पार्टीले अनुशासन उल्लंघनका रूपमा लिएको हो।

थापाको कदमबारे पार्टीको अनुशासन समितिले स्पष्टीकरणसमेत मागेको थियो। तोकिएको समयभित्र स्पष्टीकरण नआएको र एमालेको समर्थनमा बुझाइएको पत्र पनि फिर्ता नलिइएको राप्रपाको भनाइ छ।

अध्यक्ष लिङ्देनका अनुसार पार्टी निर्देशनविपरीत गरिएको निर्णय सच्याउने अवसर दिइए पनि थापाले त्यसअनुसार कदम चालेनन्। त्यसपछि कार्यसम्पादन समितिले उनीमाथि कडा सांगठनिक कारबाही गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै थापा अब राप्रपाको साधारण सदस्यसमेत रहने छैनन्। प्रदेशसभामा पार्टीको आधिकारिक निर्णय र सांसदको व्यक्तिगत कदमबीच देखिएको विवाद अन्ततः निष्कासनसम्म पुगेको हो।