रास्वपा महाधिवेशनमा को–को पुगे?

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
रास्वपा महाधिवेशनमा को–को पुगे?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनमा औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एउटै मञ्चमा उपस्थित भएका छन्।

महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेस सभापति थापा चितवन पुगेका हुन्। यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरे पनि अन्तिम समयमा थापा स्वयं सहभागी हुने निर्णय गरिएको थियो। थापाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत रास्वपालाई महाधिवेशनको शुभकामना समेत व्यक्त गरेका थिए।

विज्ञापन
khoj2

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशनमा सहभागी भएका छैनन्। एमालेबाट प्रदीप ज्ञवाली र माओवादी केन्द्रबाट वर्षमान पुनले प्रतिनिधित्व गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न दलका नेताहरू महाधिवेशनमा सहभागी भएका छन्। उद्घाटनअघि सुरक्षा व्यवस्थाअन्तर्गत नेपाली सेना र नेपाल प्रहरीको बम स्क्वाड टोलीले कार्यक्रमस्थलको निरीक्षण तथा जाँच गरेको थियो।

रास्वपाकी नेतृ डा. तोसिमा कार्की स्वास्थ्य हेल्पडेस्कमा स्वयंसेवकसँगै खटिएको दृश्य पनि महाधिवेशनस्थलमा देखिएको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार र नेतृत्व चयनसँग जोडेर महत्वका साथ हेरिएको छ। महाधिवेशनअन्तर्गत असार ८ र ९ गते बन्दसत्र तथा निर्वाचन कार्यक्रम तय गरिएको छ।