रास्वपाको सचिवालय बैठक आज, रवि लामिछानेको अध्यक्षतामा महत्त्वपूर्ण छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा राजनीतिक घटनाक्रमसँगै पार्टीका आन्तरिक साङ्गठनिक विषयले पनि प्राथमिकता पाउने भएका छन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुनेछ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, त्यसप्रति पार्टीले अपनाउने रणनीति र आगामी राजनीतिक गतिविधिका विषयमा छलफल गर्ने तयारी छ।
त्यस्तै, पार्टीको साङ्गठनिक अवस्था र त्यसलाई थप सुदृढ बनाउने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ।
पछिल्ला राजनीतिक घटनाक्रमलाई रास्वपाले कसरी मूल्याङ्कन गर्छ र आगामी दिनमा कस्तो रणनीति अघि सार्छ भन्ने विषयमा बैठकको छलफल केन्द्रित रहनेछ।

