संसद् चलाउने कि मोबाइल ? सभामुखको सांसदलाई रोचक क्लास

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
संसद् चलाउने कि मोबाइल ? सभामुखको सांसदलाई रोचक क्लास

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि सुरु गरेको दुईदिने अभिमुखीकरण कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको जिम्मेवारी केवल संसद् बैठकमा उपस्थित हुनेमा सीमित नरहेको बताएका छन्। उनले जनताले सांसदहरूको काम, व्यवहार, प्रस्तुति र अनुशासनलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै जनप्रतिनिधिले आफ्नो भूमिकाप्रति अझ गम्भीर हुनुपर्नेमा जोड दिए।

सिंहदरबारस्थित संसद् भवनमा सोमबार सुरु भएको कार्यक्रममा बोल्दै सभामुख अर्यालले प्रतिनिधिसभामा धेरै नयाँ सांसद रहेकाले संसदीय अभ्यास, प्रक्रिया र कानुन निर्माणको कार्यलाई प्रभावकारी बनाउन यस्तो अभिमुखीकरण आवश्यक भएको बताए। उनका अनुसार संसद् प्रभावकारी बनाउन अध्ययन, अनुभव र आधुनिक प्रविधिको प्रयोगलाई पनि सँगसँगै अघि बढाउनुपर्छ।

जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीभन्दा सार्वजनिक जिम्मेवारीतर्फ रूपान्तरण हुने भएकाले हरेक निर्णय र गतिविधिमा जवाफदेहिता देखिनुपर्ने उनको भनाइ थियो। उनले राम्रो कानुन निर्माण, मर्यादित व्यवहार र प्रभावकारी प्रस्तुतिका माध्यमबाट जनताको विश्वास जित्न सांसदहरूबीच सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे।

कार्यक्रमका क्रममा सभामुख अर्यालले सांसदहरूको ढिलो र न्यून उपस्थितिप्रति असन्तुष्टि पनि व्यक्त गरे। समयपालन संसदीय संस्कृतिको आधार भएकाले यस्ता कार्यक्रममा समेत जिम्मेवारीपूर्वक सहभागी हुन उनले आग्रह गरे।

मोबाइल र अनावश्यक कुराकानीबाट टाढा रहन आग्रह

तालिमका क्रममा सांसदहरूलाई मोबाइलमा धेरै समय नबिताउन र आपसमा अनावश्यक कुराकानी नगर्न पनि सभामुख अर्यालले सुझाव दिए। समय र स्रोत खर्च गरेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएपछि त्यसबाट व्यवहारिक ज्ञान लिएर फर्कनुपर्ने उनको भनाइ थियो।

उनले अभिमुखीकरणबाट सिकेका विषय आगामी प्रतिनिधिसभा बैठकमा व्यवहारमै देखिनुपर्ने अपेक्षा व्यक्त गर्दै मतदाताले पनि त्यसको मूल्यांकन गर्ने बताए।

कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी दिन अभिमुखीकरण आयोजना गरिएको जानकारी दिए।

  • दुईदिने अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सिंहदरबारस्थित संसद् भवनमा सुरु भएको हो।
  • कार्यक्रमको उद्देश्य सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण र संसदीय अभ्यासबारे थप दक्ष बनाउनु रहेको सचिवालयले जनाएको छ।