बत्ती जाँदा रास्वपा सांसदजस्तै तपाईंलाई पनि कुलमानको याद आउँछ?
आज प्रतिनिधिसभा बैठकमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको चर्चा भएको छ। विशेष कुरा के भने, कुलमान घिसिङको प्रसंग प्रतिपक्षबाट नभई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै झापा–३ बाट निर्वाचित सांसद प्रकाश पाठकले उठाएका हुन्।
नेपालले एक समय दैनिक १८ देखि २२ घण्टासम्मको लोडसेडिङ भोगिरहेको अवस्थामा कुलमान घिसिङको नेतृत्वमा करिब आठ वर्षको निरन्तर मेहनतपछि देश लोडसेडिङमुक्त बन्न सफल भएको थियो।
कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्दा संस्था अर्बौं रुपैयाँ घाटामा थियो। तर उनले जनतामाथि भ्याट लगाउने प्रस्ताव गरेनन्। भ्याट त परको कुरा, लामो समयसम्म विद्युत् महसुल बढाउने प्रस्तावसमेत ऊर्जा मन्त्रालयमा नलगेको धेरैले स्मरण गर्ने गरेका छन्।
बरु, सरकारी संस्थाहरू नाफामा जान नसक्ने भन्ने धारणा रहेको समयमा नेपाल विद्युत् प्राधिकरणलाई अर्बौं रुपैयाँ नाफामा लैजान उनी सफल भएका थिए। नेपालमा सबैभन्दा बढी विद्युत् खपत हुने तिहारको लक्ष्मीपूजाको दिनसमेत देशभर लोडसेडिङ नहुने गरी विद्युत् व्यवस्थापन गर्न सफल भएको उपलब्धि पनि उनको कार्यकालसँग जोडेर हेर्ने गरिन्छ।
देश र जनताका लागि यति ठूलो काम गरेको भन्दै प्रशंसा पाएका कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए। तर उनी उक्त निर्वाचनमा पराजित भए। जुन दिन उनको हारको नतिजा सार्वजनिक भयो, त्यसयता सामाजिक सञ्जालदेखि विभिन्न बहसमा देश र जनताको हितमा काम गर्नु मात्र चुनाव जित्न पर्याप्त नहुने टिप्पणीहरू पनि व्यापक रूपमा भएका थिए।
अत्यधिक गर्मीमा बढ्यो विद्युत् समस्या, जनतामा असन्तुष्टि
यता, अहिलेको अत्यधिक गर्मीको मौसममा देशका विभिन्न स्थानमा पटक–पटक विद्युत् अवरुद्ध हुने, लो–भोल्टेज आउने तथा विद्युत् सेवा प्रभावकारी नहुँदा नागरिक आक्रोशित बनेका छन्।
यो कुरा खोज समाचारले मात्र नभई आज प्रतिनिधिसभा बैठकमै रास्वपाका सांसद प्रकाश पाठकले समेत उठाएका छन्। उनले देशका विभिन्न स्थानमा देखिएको विद्युत् समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
यसैबीच सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय गरिसकेको छ। तर देशका धेरै स्थानमा नागरिकहरूले महँगो शुल्क तिरे पनि भरपर्दो विद्युत् सेवा पाउन नसकेको गुनासो बढ्दै गएको छ।
कतै पटक–पटक विद्युत् जाने, कतै लो–भोल्टेज आउने समस्या अझै कायम रहेको भन्दै धेरै नागरिकले असन्तुष्टि व्यक्त गरिरहेका छन्।
यो वर्ष नेपाल मात्र होइन, विश्वभर नै अत्यधिक गर्मी बढेको छ। गर्मीकै कारण विभिन्न देशमा मानिसहरूको ज्यान गएको समाचारसमेत सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा नेपालका विशेषगरी तराईका जिल्लामा विद्युत् अभावले सर्वसाधारण थप समस्यामा परेका छन्।
घरायसी प्रयोग मात्रै होइन, अहिले वर्षायाम सुरु भइसकेकाले तराईका धेरै स्थानमा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्नुपर्ने अवस्था छ। तर लो–भोल्टेजका कारण मोटरले राम्रोसँग काम नगर्ने र विद्युत् महसुल भने बढिरहेको गुनासो खोज समाचारलाई धेरै दर्शक तथा पाठकले WhatsApp मार्फत पठाइरहेका छन्।
व्यवस्थापनमा सुधार आवश्यक रहेको टिप्पणी
हाल ऊर्जा मन्त्रालयको नेतृत्व ऊर्जा मन्त्री बिराज भक्त श्रेष्ठले सम्हालिरहेका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनभन्दा बढी समय बितिसकेको छ। तर पछिल्ला १०० दिनमा नेपाल विद्युत् प्राधिकरणबाट उल्लेखनीय उपलब्धि देखिन नसकेको टिप्पणी हुन थालेको छ।
खोज समाचारको विश्लेषणमा, अन्य क्षेत्रमा जे–जस्तो अवस्था भए पनि विद्युत् क्षेत्रमा भने रास्वपा नेतृत्वको सरकारले आफ्नो चुनावी इगोलाई एकातिर राखेर कुलमान घिसिङजस्ता अनुभवी व्यक्तिसँग सहकार्य तथा आवश्यक सल्लाह–सुझाव लिनु उपयुक्त हुने देखिन्छ।
किनकि नेपाल विद्युत् प्राधिकरण विगत केही वर्षमा अन्य सरकारी संस्थाभन्दा राम्रो प्रदर्शन गर्ने संस्थाका रूपमा स्थापित भइसकेको छ। त्यसैले यो संस्थालाई पुरानो अवस्थातर्फ फर्किन दिने छुट सरकारसँग छैन।
साथै, अत्यधिक गर्मीको यस मौसममा बारम्बार देखिएको विद्युत् अवरोध, लो–भोल्टेज तथा सेवा व्यवस्थापनको कमजोरीप्रति सरकार, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यान जान आवश्यक देखिन्छ।
किनकि, हिजोसम्म देशभर सहज रूपमा विद्युत् आपूर्ति गर्न सकिएको अवस्थामा आज अचानक क्षमता नपुगेको भन्ने बहाना मात्र पर्याप्त हुँदैन। यसको मुख्य कारण प्राधिकरण र सम्बन्धित मन्त्रालयको नेतृत्वले प्रभावकारी व्यवस्थापन गर्न नसकेको हुन सक्ने आम नागरिकको गुनासो र प्रश्नहरू अहिले विभिन्न माध्यमबाट निरन्तर उठिरहेका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
सुशासन कि ‘हिटलरको ग्यास च्याम्बर’ ? राष्ट्रियसभामा विष्टको कटाक्ष
संसद् चलाउने कि मोबाइल ? सभामुखको सांसदलाई रोचक क्लास
ओली–प्रचण्ड–माधव–झलनाथ एउटै मञ्चमा, वाम राजनीतिमा नयाँ संकेत?
पार्टीको चुनाव हारेपछि नैतिक संकटमा श्रममन्त्री रामजी यादव
५ दिनपछि टुंगियो रास्वपाको महाधिवेशन, रबिदेखि विपिनसम्म को–को भए निर्वाचित?
रास्वपा केन्द्रीय समितिका ९९ निर्वाचित सदस्यको सूची मतसहित
सही काम गर्दा पनि किन आलोचित भए सुदन गुरुङ?