राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालको व्यवस्थाले भ्रष्टाचारलाई संरक्षण दिएको आरोप लगाएका छन्। इटहरीमा आयोजित राप्रपा कोशी प्रदेशको विरोध सभामा उनले हिन्दू राष्ट्र अपरिहार्य भएको र राजासहितको प्रजातन्त्र देशका लागि आवश्यक भएको बताए। लिङ्देनले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको उल्लेख गर्दै अब ठूला दलका कुनै नेताहरू नजोगिने ठोकुवा गरे। उनले भने, “दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन।”

भ्रष्टाचारविरुद्ध सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै उनले छानबिनको सुरुवात राप्रपाबाट गर्न आग्रह गरे। कार्यक्रममा राप्रपाका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलहरूले नै प्रजातन्त्र मास्ने काम गरेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले प्रजातन्त्रलाई खतरामा पारेको दाबी गर्दै उनले तीन ठूला दलका अध्यक्षलाई संसदमा उभिएर भ्रष्टाचार नगरेको र विदेशमा पैसा नराखेको प्रमाणित गर्न चुनौती दिए।