कास्की जिल्ला प्रहरीले रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित अनुसन्धानबारे सञ्चारमाध्यममा सार्वजनिक भइरहेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार जारी विज्ञप्तीमा जिल्ला प्रहरी कार्यालयले बिना आधिकारिक र औपचारिक स्रोत उद्धृत गरी सार्वजनिक गरिएका समाचारले अपराध अनुसन्धानमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै गोपनीयता कायम राख्न आग्रह गरेको छ। प्रहरीका अनुसार, सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार अपराध अनुसन्धान, तहकिकात, र अभियोजनमा असर पर्ने सूचना प्रवाह गर्नु कानुनविपरीत हो।
प्रहरीले विशेष गरी रवि लामिछाने हिरासतमा रहेको अवस्थामा बिभिन्न सञ्चारमाध्यमले स्रोत उल्लेख गर्दै अनुसन्धानबारे समाचार प्रकाशित गरेको घटनाप्रति असन्तुष्टि जनाउँदै भविष्यमा यस्तो नगर्न चेतावनी दिएको छ। कात्तिक २ गतेदेखि लामिछाने कास्की प्रहरीको हिरासतमा छन्। प्रहरीले अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सचेत रहन र कुनै पनि भ्रामक जानकारी नछरिन अनुरोध गर्दै अनुसन्धानमा प्रत्यक्ष संलग्न व्यक्तिहरूको नाम जोडेर समाचार नबनाउन आग्रह गरेको छ।
