छठपर्वको अवसरमा जलेश्वरमा यस वर्ष अत्यधिक परिमाणमा केरा भित्र्याइएको छ। व्यवसायी गणेश साहका अनुसार छठपर्वका लागि भारतबाट रु ५० लाख बराबरका केरा आजको अन्तिम हाटबजारमा बिक्रीका लागि ल्याइएको हो। सामान्यत: २०–२५ लाखसम्मको केरा आयात गर्ने गरिएकामा यसपालि माग बढेकाले ५० लाखको केरा भित्र्याइएको अर्का व्यवसायी उत्तिम साहले जानकारी दिए।

पाँच–सात जना स्थानीय केरा व्यवसायीले सामूहिक रूपमा २५ ट्रक केरा मगाई आपसमा लगानीका आधारमा वितरण गरेका छन्। विगत वर्षमा १५–२० ट्रकमात्र केरा आउने गरे पनि यसपालि ४० ट्रक केरा जलेश्वरमा भित्रिएको छ। स्थानीय व्यापारीहरूले बसाइँसराइ र आन्तरिक रूपमा बढ्दै गरेको जनसङ्ख्यालाई ध्यानमा राखेर यसपटक थप केरा आयात गरिएको र सबै बिक्री हुनेमा विश्वास व्यक्त गरेका छन्।

केरा प्रतिघार रु ६–७ सयदेखि १५ सयसम्म बिक्री भइरहेको छ। बजारमा गोपाल, मालभोग, वंशीभोग, र मृचमान प्रजातिका केरा उपलब्ध छन्। जलेश्वर नगरपालिकाका साथै वरपरका पालिकाका बर्तालुहरू छठपर्वको तयारीका लागि बिहानैदेखि केरा किन्न भीड गर्दै आएका छन्।