काठमाडौं, चैत ११ – नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सोमबार सिंहदरबारमा बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विषयमा छलफल भएको स्रोतले जनाएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए। उनीहरूसँगै पार्टीका अन्य वरिष्ठ नेताहरू पनि छलफलमा सहभागी थिए।
प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलका अनुसार बैठकमा संक्रमणकालीन न्यायबाहेक अन्य विषयमा छलफल भएन। उनले राजसंस्थासम्बन्धी कुनै छलफल नभएको प्रस्ट्याउँदै भने, “राजावादीहरूबारे छलफल गर्न गोप्य बैठक बस्नु आवश्यक छैन, आवश्यकता परे टुँडिखेलबाटै जवाफ दिन सकिन्छ।”
यसैबीच, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पनि संक्रमणकालीन न्याय निरुपणका विषयमा मात्र छलफल भएको बताए। उनका अनुसार अन्य राजनीतिक विषयमा छलफल गर्न आगामी बैठकहरूमा समय मिलाइने छ।