दार्चुलामा आज बिहान एक दर्दनाक जीप दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्यु भएको छ। मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप शैल्यशिखर नगरपालिका–५ अन्तर्गत सिराड खोलामा दुर्घटनामा परेको हो। उक्त दुर्घटना बिहान ४ बजे भएको जानकारी प्राप्त भएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्। जात्राबाट फर्किरहेका यात्रु सवार जीप दुर्घटनामा परेको बताइएको छ। घाइतेहरूको अवस्था अत्यन्त गम्भीर रहेको र सबैलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ। हालसम्म मृतकको पहिचान हुन सकेको छैन। दुर्घटनाको कारण र जीपमा कति जना सवार थिए भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ।