दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका सामुदायिक वन क्षेत्रमा दुर्लभ रेडपाण्डा फेला परेको छ। नगरपालिकाले वैशाखमा आयोजना गर्न लागेको ‘रेडपाण्डा तथा थार महोत्सव’ लाई लक्षित गर्दै वन क्षेत्रमा प्रवेश गरेको टोलीले चैत ४ गते मेरुङ सामुदायिक वनमा रेडपाण्डा भेटेको हो।
टोली संयोजक वडा अध्यक्ष माधव राईका अनुसार रेडपाण्डाको फोटो तथा भिडियो संकलन गर्दै स्थलगत अध्ययन भइरहेको छ। संरक्षणका लागि सामुदायिक वन समूहहरू सक्रिय छन् भने रेडपाण्डा फेला पार्नेहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
यस महोत्सवले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, केपिलासगढीमा हनी हन्टिङ, भोजपुरमा अल्ट्रा म्याराथन, साकेला गाउँपालिकामा साकेला महोत्सव लगायतका कार्यक्रमहरू समेत आयोजना हुने तयारी भइरहेको छ।