सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई भने ५० प्रतिशत छुट हुने सहरी विकास मन्त्रालयले जनाएको छ। २०७८ मा परीक्षणका रूपमा निःशुल्क सञ्चालन गरिएको धरहरा अब व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिने भएको छ। मन्त्रिपरिषद्ले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अन्तर्गत २०८१ मंसिर ९ गतेबाट धरहरा सञ्चालनको अनुमति दिएको छ।

सार्क राष्ट्रका पर्यटकका लागि शुल्क ५ सय र अन्य राष्ट्रका पर्यटकका लागि १ हजार रुपैयाँ तोकिएको छ। धरहरा परिसरमा पार्किङ शुल्क चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि १० रुपैयाँ निर्धारण गरिएको छ। धरहरा परिसर प्रवेशका लागि ५० रुपैयाँ लाग्नेछ भने व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ। राष्ट्रिय महत्त्वका विज्ञापन धरहरा स्तम्भमा गर्न प्रतिघण्टा ५ हजार शुल्क लाग्नेछ।