नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब कुनै हालतमा पनि लोडसेडिङ नहुने दाबी गरेका छन्। काठमाडौँमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रममा बोल्दै उनले केही प्राविधिक समस्याका कारण केही घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँदा लोडसेडिङको हल्ला फैलाएर नाफा उठाउने जमात सक्रिय भएको बताएका छन्। घिसिङका अनुसार, लोडसेडिङ हुँदा खुशी हुने केही उद्योगी व्यवसायीहरूले यो हल्लाको फाइदा उठाएर सामानको मूल्य बढाउन थालेका छन्। उनले भने, “नेपालमा नेगेटिभिटीमा रमाउने जमात धेरै रहेछ। प्राधिकरण नाफामा गएकोमा खुशी नहुने तर घाटामा गएकोमा रमाउने जमात छ।”
तामाकोशी आयोजना बाढीले क्षतिग्रस्त हुँदा केही समय समस्या आएको स्वीकार गर्दै उनले प्राविधिक समस्यालाई लोडसेडिङको नाम दिनु गलत भएको बताए। “हिजो २०/२२ घण्टा लोडसेडिङ गराएर उद्योगीहरूले कमाएको नाफा तिर्नुपर्दैन? अहिले प्राविधिक समस्यालाई लोडसेडिङको घोषणा गर भन्नेलाई त्यो हल्ला फैलाउने जमातले नै उक्साएको हो,” उनले भने। घिसिङले नेपालमा लोडसेडिङ नभएको र भविष्यमा पनि नहुने प्रष्ट्याउँदै प्राविधिक समस्या समाधानमा प्राधिकरण लागिपरेको जानकारी दिएका छन्।