नेपालले अमेरिका विरुद्धको तीन खेलको टी-२० सिरिजको अन्तिम खेलअघि नै सिरिज जित्न सफल भएको छ। आइतबार बिहान सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै यो उपलब्धि हासिल गर्यो। यसअघि नेपालले पहिलो टी-२० खेलमा १७ रनको जित निकालेको थियो।

सुपर ओभरमा, अमेरिकाले पहिले ब्याटिङ गर्दै ३ रनको लक्ष्य दिएको थियो। नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै पहिलो दुई बलमा मात्र २ रन दिएर शायन र आरोन जोन्सलाई आउट गरे। यसपछि नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेलले ४ बलमा ३ रनको लक्ष्य हासिल गर्दै खेल जित्ने काम गरे।

यसअघि, दुवै टोलीले समान १७० रन बनाएका थिए। नेपालले ६ विकेटको क्षतिमा १७० रन जोड्दा, अमेरिकाले ८ विकेटको क्षतिमा समान स्कोर बनायो। अमेरिकाका आन्द्रेस गसले ६२ रनको अर्धशतक प्रहार गरे भने, नेपालका कुशल भुर्तेलले ९२ रनको उत्कृष्ट पारी खेल्दै टिमलाई मजबुत सुरुआत दिए।

नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए, जसले अमेरिकाको पारीलाई दबाबमा राख्न महत्वपूर्ण भूमिका खेले। अब, सिरिजको तेस्रो र अन्तिम खेल भोलि बिहान हुने तय गरिएको छ। नेपालको यो जितले उनिहरुको क्रिकेट इतिहासमा एक नयाँ अध्याय थपेको छ।