घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चारै गोल पहिलो हाफमै भएका थिए। म्यानमारकी म्यात नोइ खिनले छैटौँ मिनेटमा फ्रिकिकमार्फत अग्रता दिलाए पनि नेपालकी सविता रानामगरले ११औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। त्यसपछि १६औँ मिनेटमा म्यानमारले पुनः अग्रता लिए पनि ४०औँ मिनेटमा सावित्रा भण्डारीको गोलले खेल २–२ को बराबरीमा सकियो। यो नतिजासँगै म्यानमार सात अंक जोड्दै लिग विजेता बनेको छ भने समान अंक भए पनि नेपाल गोलअन्तरका आधारमा उपविजेता रहँदै फाइनलमा प्रवेश गरेको छ। अब नेपालले उपाधिका लागि यही बुधबार म्यानमारसँगै प्रतिस्पर्धा गर्नेछ।