नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व चयन भएको छ। शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले नयाँ युगतर्फ पाइला चालेको हो। उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै नेतृत्व हासिल गरेकी हुन्। निर्वाचनको अन्तिम नतिजा आइतबार सार्वजनिक गरिने भए पनि, निर्मलाले गन्न बाँकी भन्दा बढी मतान्तर प्राप्त गरिसकेकाले उनको विजय सुनिश्चित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित, र महासचिवमा रामप्रसाद दाहाल निर्वाचित हुने निश्चित भएको छ। अधिकांश केन्द्रीय सदस्य पदमा सत्ता गठबन्धन निकटका उम्मेदवार विजयी भएका छन् भने केही पदमा प्रेस सेन्टरका उम्मेदवारले जित हात पारेका छन्। यस वर्षको निर्वाचनमा कांग्रेस र एमाले निकट क्रमशः प्रेस युनियन र प्रेस चौतारीले तालमेल गरेका थिए। बागी उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर नेतृत्वलगायतका संगठनले समर्थन गरेका थिए। निर्मला शर्माको नेतृत्वले महासंघलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।