पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै राष्ट्रको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले देशको समृद्धिका लागि आफूहरूबाट आवश्यक त्याग गर्न तयार रहेको बताएका छन्। ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिका लागि हामीबाट अरू के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ,’ उनले भने। साथै, उनले राष्ट्रिय एकता कायम राख्न र देशको समृद्धिका निम्ति सबै देशवासीलाई साथ दिन आग्रह गरे।
पूर्वराजाले राष्ट्रको हितका लागि आफूले सधैं समर्पण गर्ने प्रतिबद्धता जनाउँदै त्यागलाई कमजोरी नसम्झिन अनुरोध गरे। ‘त्यागले कसैको कद सानो हुने होइन। हामीले जनताको भलो चाहेर आफ्नो ओहदा र सुविधा त्यागेका हौं,’ उनले भने। उनले पछिल्ला तीन दशकमा व्यवस्था फेरिए पनि अवस्था सुधारिन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘प्रजातन्त्र आशा जगाउने प्रणाली हो, तर तीन दशकयताको स्थिति त्यस्तो छैन,’ उनले बताए।