नेपाल विद्युत् प्राधिकरणले विद्युत महसुल बक्यौता नबुझाएका ४३ उद्योगको विद्युत् लाइन काटेको छ। प्राधिकरणले १५ दिनको समय दिएर महसुल बुझाउन भनेको भए पनि बिहीबार साँझ समय सीमा सकिएपछि, राति ८ बजेदेखि महसुल नतिरेका उद्योगहरूको लाइन काट्न सुरु गरिएको हो। घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिल लगायतका उद्योगहरूको लाइन काटिएको प्राधिकरणले जनाएको छ।

अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले आफ्नो उद्योगको लाइन काटिएको पुष्टि गर्दै, लाइन ८ बजेर ८ मिनेटमा काटिएको बताए। “विद्युत् प्रयोगको प्रमाण नदिइ लाइन काट्नु ज्यादती हो,” उनले भने। प्राधिकरणले केही उद्योगहरूले बक्यौता तिरे पनि धेरै उद्योगहरूले म्यादभित्र रकम नतिरेकाले उनीहरूको लाइन काटिएको जनाएको छ।