काठमाडौँको बल्खुस्थित तरकारी बजारमा फागुन ७ गते बिहान ४१ वर्षीय रामकृष्ण दाहाल मृत भेटिएका छन्। मकवानपुरगढी गाउँपालिका–४ का दाहालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। घटनामा संलग्न रहेको आरोपमा मकवानपुरका नारायण प्रसाद ढकाल, समिर घलान, बिमल रुम्बा र अर्जुन स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ। यी चारै जना पनि तरकारी बजारमा मजदुरी गर्थे र दाहालसँगै टहरामा बस्थे।

फागुन ६ गते साँझ उनीहरू सबैले मासु, चिउरा र मदिरा खाएका थिए। तर, बिहान विवाद भएपछि उनीहरूले दाहाललाई फलामको पाइपले हानेर हत्या गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार हत्या हुनुअघि दाहालले ढकाललाई कालो चिया ल्याइदिन भनेका थिए, तर उनले बिर्सिएको बताए। प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।

घटनामा प्रयोग भएको फलामको पाइप र रगत लागेको कपडा बरामद गरिएको छ। हत्या भएको करिब आधा घण्टाभित्रै आरोपीहरू तरकारी बजारबाट पक्राउ परेका थिए।