भक्तपुर, बालकोट – भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा सोमबार बाबु र भाइको हत्या गरी फरार रहेका मिलन आचार्यले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। खोटाङ दिक्तेलका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण आचार्य सोमबार बिहान आफ्नै भाडाको कोठामा मृत भेटिएका थिए। घटनापछि जेठा छोरा मिलन आचार्य सम्पर्कविहीन थिए।
प्रहरीले खोजी तिव्र बनाएसँगै मिलन मंगलबार बिहान महाराजगञ्जस्थित प्रहरी वृत्त पुगेका थिए। उनले बाबु र भाइको हत्या आफूले गरेको स्वीकार गरेका छन्। प्रहरीका अनुसार उनले डम्फा र सिलौटो प्रयोग गरी हत्या गरेको स्वीकार गरेका छन्।मिलनले प्रेमिकासँगको तनावका कारण मानसिक अशान्ति भई यस्तो घटना घटाएको बताएका छन्। हाल उनलाई सोधपुछपछि जिल्ला प्रहरी कार्यालय भक्तपुर पठाउने तयारी भइरहेको छ भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।