भारतको बेङ्लोरमा रोजगारीका लागि गएका बझाङका ३० वर्षीय गणेश रावलको चक्कु प्रहार गरी हत्या भएको छ। तामिल मूलका चालक बाला देसिले विवादकै कारण रावलमाथि आक्रमण गरी फरार भएको बताइएको छ।
रावल रोजगारीको सिलसिलामा बेङ्लोरको नायनडल्लीस्थित नमस्ते कम्पनीमा कार्यरत थिए। कम्पनीकै गाडी चालक बाला देसिसँग पार्किङसम्बन्धी विवाद भएपछि फेब्रुअरी २७ मा उनीहरूबीच भनाभन भएको थियो। यही रिसको झोकमा फेब्रुअरी २८ तारिख राति ६ बजे बाला देसिले गणेशलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। मृतक रावलका ७ वर्षीया छोरी र ११ महिनाका छोरा छन्। उनको शव हाल बेङ्लोरस्थित सरकारी भिक्टोरिया अस्पतालमा राखिएको छ।
यस घटनापछि स्थानीय प्रहरी प्रशासनले अनुसन्धान अगाडि बढाएको छ। नायनडल्ली नजिकै रहेको बेटरायनापुरा प्रहरी स्टेशनमा मुद्दा दर्ता भइसकेको छ भने प्रहरीले हत्याराको खोजी जारी राखेको छ।
बेङ्लोरमा नेपाली युवकको हत्या, तामिल चालक फरार