फेब्रुअरी २६ – भारतको बेङ्लोरस्थित चिकबलापुरमा सोमबार राति भएको भीषण सडक दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ। शिवरात्रीको दिन राति तीव्र गतिमा गुडिरहेको बाइक अनियन्त्रित भई ट्रकसँग ठोक्किँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा बझाङको थलारा गाउँपालिका–४ मयल घर भएका २८ वर्षीय सुनिल बिस्ट र बझाङकै खप्तडछान्ना गाउँपालिका–५ घर भएका २६ वर्षीय उज्ज्वल भण्डारी रहेको स्थानीय प्रहरीले पुष्टि गरेको छ। उनीहरू रोजगारीको सिलसिलामा बेङ्लोरमा बस्दै आएका थिए।

स्रोतअनुसार प्रत्यक्षदर्शीले बाइक तीव्र गतिमा रहेका कारण दुर्घटना भएको बताएका छन्। दुर्घटनापछि दुवै जनाको शव चिकबलापुर सरकारी अस्पतालमा राखिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चिकबलापुर प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ। पोस्टमार्टमपछि कानुनी प्रक्रिया पूरा गरी मृतकका शवहरू परिवारको जिम्मा लगाइनेछ।