राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही लैजाने तयारी भइरहेको छ। रास्वपा र लामिछाने समर्थकले सम्भावित विरोध प्रदर्शन गर्न सक्ने देखिएपछि उनलाई बिहान ५ बजेनै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको थियो। लामिछानेलाई बिहान ७ बजे रूपन्देही लैजाने भनिएपनि हाल ८ः४० सम्म उडान भएको छैन भनी स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन्। आचार्यका अनुसार प्रहरीले उनलाई बिहान ६ः३० मा विमानस्थलका लागि तयार हुन भनेको थियो, तर ५ बजेनै उनलाई विमानस्थल पुर्याइएको हो।

लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी प्रकरणमा बयानका लागि रूपन्देही लैजाँदैछन्। सहकारीबाट आएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको कार्यालय सञ्चालनमा प्रयोग भएको आरोपमा रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट गिरफ्तार गरिएका लामिछानेलाई कात्तिक ४ गते कास्की जिल्ला अदालतमा पेस गरिएको थियो, जहाँ उनलाई ६ दिन हिरासतमा राख्ने अनुमति दिइएको थियो। त्यसपछि दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन हिरासत म्याद थपिएको थियो। लामिछानेलाई बुटवल लैजाने तयारीसंगै दिउँसो ११ बजे रास्वपाले बुटवलमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।