राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएपछि अदालतमा हाजिर हुने तयारी भएको हो। विहीबार कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरे पनि काठमाडौँ अदालतमा पनि मुद्दा रहेकाले उपस्थित हुनुपर्ने भएको छ। कास्की प्रहरीले रिहा भएलगत्तै पक्राउ गरी काठमाडौँ पठाउने तयारी गरे पनि अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
लामिछानेलाई कास्की प्रहरीले पत्नी निकिता पौडेलको जिम्मा लगाउँदै अदालतमा उपस्थित हुने सर्तमा रिहा गरेको थियो। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराका अनुसार लामिछाने आइतबार बिहान ८:३० बजे काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनेछन्। हाल लामिछाने रास्वपाका नेताहरूको साथ कास्कीबाट काठमाडौँतर्फ आउँदै छन्।