ललितपुरको बालकुमारीस्थित सीसीआरसी कलेज नजिक गएराति भएको आगलागीले फार्मेसी, जुम्बा डान्स सेन्टर र केही पसल पूर्ण रूपमा नष्ट गरेको छ। स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावटका कारण आगलागी भएको हो। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्दै आएको ‘डगेरा फार्मेसी’ जलेर पूर्ण रूपमा नष्ट भएको छ। साथै, एउटा पान पसल र मःम पसल पनि आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

आगलागीले सँगै रहेको ‘जुम्बा डान्स सेन्टर’ पनि नष्ट भएको छ। आगो नियन्त्रणमा लिन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकल तथा प्रहरी टोली खटिएको थियो। समयमै आगो निभाइएको भए पनि ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।