इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै शीर्ष स्थानमा ८ अंकको फराकिलो अग्रता कायम गरेको छ। गएराति सेन्ट मेरिज स्टेडियममा भएको रोमाञ्चक खेलमा लिभरपुलले साउथह्याम्प्टनलाई ३-२ गोलले पराजित गर्यो।
खेलको ३०औं मिनेटमा डोमिनिक जोबोस्लाईले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर साउथह्याम्प्टनका एडम आर्मस्ट्रङले बराबरी गोल गरेपछि स्कोर १-१ को अवस्थामा पुगेको थियो। दोस्रो हाफमा ५६औं मिनेटमा फर्नान्डेले गोल गर्दै साउथह्याम्प्टनलाई अग्रता दिलाए। तर, ६५औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि बराबरी गोल गरे। खेलको ८३औं मिनेटमा पेनाल्टीमार्फत सलाहले निर्णायक गोल गर्दै लिभरपुललाई महत्त्वपूर्ण जित दिलाए।
जितसँगै लिभरपुलले १२ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ। म्यानचेस्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने चेल्सी २२ अंकसहित तेस्रो स्थानमा छ। ४ अंकसहित साउथह्याम्प्टन पुछारमा रहेको छ। लिभरपुलको यो जितले प्रिमियर लिगको उपाधि दौडमा बलियो सम्भावना देखाएको छ।