नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारमार्फत विद्युत् वितरण सुरु गरेसँगै सडकछेउका पोल र तार हटाइएपछि न्युरोड आकर्षक देखिएको छ। प्राधिकरणका प्रवक्ता चन्द्रकुमार घोसका अनुसार उपत्यकाका अधिकांश स्थानमा तार भूमिगत गर्ने काम सम्पन्न भएको छ भने पोल र तार हटाउने काम न्युरोडबाट सुरु गरिएको छ। उपत्यकाबाहिर पोखरा र भरतपुर महानगरपालिकामा पनि तार भूमिगत गर्ने अधिकांश काम पूरा भएको बताइएको छ।

विद्युत्का पोल प्रयोग गर्दै आएका टेलिकम र इन्टरनेट कम्पनीहरूले पनि तार भूमिगत गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। तर, सन् २०२० मा दुई वर्षमा सक्ने लक्ष्यसहित सुरु गरिएको यो योजना छ वर्षसम्ममा केवल ७५ प्रतिशत मात्र सम्पन्न भएको छ। सरकारले यस योजनालाई समयमै पूरा गर्न ठोस कदम चाल्नुपर्ने आवाज उठिरहेको छ।