शुक्रबार काठमाडौँको मुख्य सडक क्षेत्रमा एमालेको ‘जागरण सभा’ कार्यक्रमका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सर्वसाधारणले ठूलो सास्ती भोगे। दरबारमार्गमा आयोजित र्यालीले पाँच घण्टासम्म यातायात ठप्प हुँदा यात्रुहरू प्रभावित भए। बसपार्क जान जमलमा भौँतारिएका मिलन श्रेष्ठ करिब डेढ घण्टासम्म बस नपाउँदा आक्रोशित देखिन्थे। “प्रधानमन्त्रीकै पार्टीले सडक बन्द गरेर प्रदर्शन गर्नु पदको दुरुपयोग हो,” उनले भने। मिलनले शनिबारजस्तो बिदाको दिनमा कार्यक्रम गर्न सुझाव दिएका थिए।
यस्तै, जमलमा एक घण्टा बस कुर्दै गरेका राम दुतरातले पुराना नेताहरूको लापरवाहीले जनताले सधैं सास्ती खेप्नुपरेको बताए। “गाडी कुर्दाकुर्दा हैरान। भोको पेटमा यति सास्ती! नयाँ नेताहरूले केही गर्नु पर्छ,” उनले भने। शहीदगेटबाट जमल पुग्न मोटरसाइकल चलाउन नपाएका ऋषिराम अर्याललाई २ मिनेटको दुरी पार गर्न दुई घण्टा लाग्यो। “कार्यक्रम खुलामञ्चजस्तो स्थानमा गर्न सक्थे, तर जनतालाई सास्ती दिएर के पाइन्छ?” उनले आक्रोश पोखे।
एमालेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको प्रशंसा गर्दै दुर्गा प्रसाईंको कम्बोडियाको लगानीबारेको दाबी झुट भएको बताइरहेका थिए। तर, प्रदर्शनकै कारण काठमाडौँका न्युरोड, भृकुटीमण्डप, सिंहदरबारजस्ता स्थानहरूमा अत्यधिक जाम हुँदा एम्बुलेन्ससमेत लामो समय जाममा अड्किएका थिए। सर्वसाधारणले सार्वजनिक सडकमा यस्तो शक्ति प्रदर्शनलाई आलोचना गर्दै यसले आम जनतालाई ठूलो दुःख दिएको बताएका छन्।