नेपालले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको नेपाली टोलीले घरेलु दर्शकको समर्थनमा बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्य लिएको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याउने र फाइनल खेल आफ्नो पक्षमा पार्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी, स्टार खेलाडी सावित्री भण्डारी (साम्बा) र कप्तान अन्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई हराएर उपाधि उचाल्ने आत्मविश्वास व्यक्त गरेका छन्। साम्बाले यसपटक २१ गोलको कीर्तिमान बराबरी गर्दै उपाधि जितेर नेपाली दर्शकलाई खुसी दिने लक्ष्य बनाएकी छिन्। फाइनल खेल आज साँझ ६ः३० बजे दशरथ रंगशालामा हुनेछ।