अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी कात्तिक १४ गते नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्रीमा रोक लगाएको छ। दशरथ रंगशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री भएको पाइएकोले एन्फाले यस्तो निर्णय लिएको हो। एन्फाले एक सूचना जारी गर्दै, “कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म टिकट खरिद नगर्न दर्शकहरूलाई अनुरोध गर्दछौं,” भनेको छ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल कात्तिक १४ गते साँझ ६:३० बजे दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुने कार्यक्रम छ। टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग एन्फाले सोधपुछ गरिरहेको जानकारी दिएको छ। साफ महिला च्याम्पियनसिपको आयोजना यस पटक एन्फाको व्यवस्थापनमा कात्तिक १ गतेदेखि घरेलु मैदानमा भइरहेको छ भने प्रतियोगिता कात्तिक १४ गते समापन हुनेछ।