भारतले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि ग्रेस डाङ्मेईले दुई गोल गरिन् भने मनिषा, बालादेवी गान्गोम र ज्योती चौहानले पनि गोल गरे। बालादेवीको यो ५०औं अन्तर्राष्ट्रिय गोल हो। खेलको पाँचौं मिनेटमै ग्रेसले १८ यार्ड बक्सबाट गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि १७औं मिनेटमा मनिषाले पाकिस्तानी रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर बनाइन्। ३५औं मिनेटमा बालादेवीले पेनाल्टी क्षेत्रबाट पाएको इन्डाइरेक्ट फ्री किक सदुपयोग गर्दै स्कोरलाई ३–० मा पुर्याइन्।
४२औं मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४–० को अग्रता दिलाइन्। पाकिस्तानले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल फर्काएको थियो। दोस्रो हाफको सुरुमै पाकिस्तानकी कायला मारी सिद्दिकीले अर्को गोल गर्दै स्कोर ४–२ मा ल्याइन्। तर ७८औं मिनेटमा ज्योतीले गोल गर्दै भारतको जीत सुनिश्चित गरिन्। जितसँगै भारत समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ। समूह ‘ए’मा भारत, पाकिस्तान र साविक विजेता बंगलादेश रहेका छन् भने समूह ‘बी’मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन्। नेपालले आफ्नो पहिलो खेल शुक्रबार भुटानसँग खेल्नेछ।