सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्सका भारतीय ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेका छन्।

 

भारतको गुजरातका कोल्सावालाले कर्णालीका लागि पहिलो खेल खेलेका हुन्। उनले आजको खेलमा हङकङका बाबर हायतको ठाउँमा टोलीमा स्थान बनाएका थिए। चितवन राइनोजविरुद्धको खेलमा कोल्सावालाले ३९ बलमा ६ चौका र २ छक्काको मद्दतले ५३ रन जोडे। उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोससँग ५९ रनको साझेदारी गर्दै टोलीलाई चुनौतीपूर्ण अवस्थामा पु¥याए।तीन वर्षपछि नेपालको फ्रेन्चाइज क्रिकेटमा फर्किएका कोल्सावालाले यसअघि सन् २०२१ को एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रिओट्सबाट खेलेका थिए। यस्तै, उनले धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै खेलेका थिए।

चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले १३औं ओभरसम्ममा ३ विकेट गुमाइसकेको छ। ओपनिङमा आएका रित गौतम शून्य रनमै आउट हुँदा शरद भेषवाकरले १४ रनमा विकेट गुमाए। यो खेलमा विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। आजै पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। यस खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित टोली दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।