कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस आज पनि जारी रहेको छ। प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।

यसअघि सरकारी वकिल र सहकारी पीडित पक्षले आफ्नो तर्फबाट बहस सम्पन्न गरेका थिए। अब प्रतिवादी पक्षको बहसपछि जवाफी बहस हुने जानकारी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले दिइन्। थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने निर्णय हुनेछ। लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर गरिएको छ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेसहित ४४ जनामाथि ठगी प्रकरणमा मुद्दा चलाइएको छ भने सहकारीको रकम अपचलनका सम्बन्धमा हालसम्म ६३ जनाविरुद्ध आरोप लागेको छ।